काबुलमा मारिएका नेपालीको सम्झनामा वाईएफसीको पोखरामा शोकसभा

फगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका १३ जना नेपालीको सम्झनामा बुधबार साँझ यूथ फर चेञ्ज पोखरा (वाईएफसी) ले श्रद्धाञ्जली सभाको आयोजना गर्यो ।

निर्दोषमाथि भएको क्रुर आक्रमणको विरोध गर्दैै पोखराको चिप्लेढुंगामा दीप प्रज्वलन गरी शोकसभाको आयोजना गरिएको हो । कार्यक्रममा स्थानीयवासी र युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

आयोजक संस्थाका उपाध्यक्ष निराकार सिग्देलले काम र मामको खोजीमा विदेशिएका नेपालीमाथि भएको हत्याको निन्दा गरे । ‘वास्तवमा अपराधी र आतंकवादीको कुनै जात नहुने रहेछ’ उनले भने – ‘हामी नेपाली शान्तिप्रिय हौं, विश्वले बुझिदेओस् ।’

वाईएफसीका सचिव अनुपमा पुरीले रोजीरोटीका लागि दैनिक हजारौं युवा विदेशिन बाध्य भएको र दुर्घटना तथा यस्ता आतंकवादी आक्रमणमा ज्यान गुमाउनुपर्ने नियति भोग्नुपरेकाले स्वदेशमै गरिखाने वातावरण तयार गर्न राज्यको ध्यानाकर्षण गराईन् ।

सभामा सहभागी राष्ट्रिय सौन्दर्यकर्मी युनियन कास्कीकी महासचिव सुमन गुरुङले गरिबीले आहत नेपाली श्रमका खातिर विदेशमा मारिनुपर्ने अवस्थाप्रति दुःख व्यक्त गरिन् ।

शोकसभामा मानवअधिकारवादी, पत्रकार, व्यवसायी, विद्यार्थी, प्रहरी, समाजसेवी, युवालगायतले शोक व्यक्त गरेको आयोजक संस्थाका कोषाध्यक्ष साजन कोइरालाले जानकारी दिए ।

यूथ फर चेञ्जले यसअघि विप्लव माओवादीद्वारा आयोजित नेपाल बन्दको विरोधस्वरुप मोटरसाईकल ¥याली तथा सडकबालबालिका प्रेरित कार्यक्रम समेत आयोजना गरेको थियो ।

सोमबार विहानै तालिबानीको आक्रमणमा परी घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो । अन्य ६ जना घाईते छन् । दुई भारतीय नागरिकको पनि घटनामा ज्यान गएको थियो ।
श्रोत ओएस नेपाल 

0 comments

Write Down Your Responses