रत्नपार्कमा चप्पलको सिरानी हालेर धेरै दिन निदाएको छु : लोकगायक पंगेनी (भिडियो सहित)

पाल्पाको सामान्य परिवारमा जन्मिएर हुर्किएका लोक गायक बद्री पंगेनी साना संघर्षले जनताका प्रिय लोक गायक बनेका छैनन् । झण्डै दुई दशक लामो गायन यात्रामा उनले विभिन्न खालका अनुभवहरु संगालेका छन् । सानेबाटै गायनमा विशेष रुची राख्ने उनी गीत गाउनकै लागि भनेर पाल्पाबाट राजधानी छिरेका हुन । राजधानी बसाईका सुरुवाती दिन निक्कै संघर्षपूर्ण ढंगबाट व्यतित गरेका पंगेनीलाई तिनै संघर्षले जीवनको अगाडीको बाटो सहज र सरल बनायो ।

अनुशासित बाल्यकाल बिताएका पंगेनी सानामा गायनमा भन्दापनि विशेष गरेर खेलकुदमा रुची राख्थे । खेलकुदमा पनि विशेष फुटबल रुचाउँने उनका साथमा हरेक समय फुटबल हुन्थ्यो । उनका पिताका २ श्रीमती उनकी आमा कान्छी, तर उनी बाल्यकालमा ठूलीआमा सँग नजिक भए । आफ्नी आमालाई तल आमा भनेर सम्बोधन गर्ने पंगेनी ठूलीआमालाई माथी आमा भनेर बोलाउँथे । सानैबाट आफ्नै काखमा हुर्काएकाले होला उनकी माथी आमाको चाहना टोलभरीका सबैले बद्री सर भनेर छोरालाई सम्बोधन गरेको सुन्ने रहर थियो । हुनत उनलाई जन्म दिने आमाको चाहना पनि छोरा सबैको गुरु भएको हेर्ने थियो ।

तर, सानामा उनको ध्यान पढाईमा कम र गायन तथा खेलमा बढी हुन्थ्यो । पढ्नमा त्यति रुचि नदिने उनी नेपालीमा भने सानैबाट तेज थिए । उनी नेपालीमा तेज हुनुका पछाडी पनि कारण थियो । नेपाली पढाउने सरले उनलाई खुब माया गर्नुहुन्थ्यो । सधैं तिमी भनेर सम्बोधन गर्नुहुन्थ्यो । त्यसैले पनि उनलाई नेपाली पढ्न मन लाग्थ्यो । तर, अन्य विषयका सरहरुले उनलाई तिमी भनेर सम्बोधन गरेरनन् । बकुल्ले, तँ जस्ता सम्बोधनले बोलाउने र बुझाउन भन्दा पिट्नमा धेरै ध्यान दिने अंग्रेजी तथा गणितका सरहरु देख्ने बित्तिकै उनलाई कक्षा कोठामा जानभन्दा कक्षा छाडेर भाग्न मन लाग्थ्यो । उनी अंग्रेजी र गणितका धेरै कक्षा बंक गरेर हिड्थे । त्यसैले पनि उनकी आमाहरुको रहर केवल रहरमै सिमित रह्यो । उनी उनकै रुचीको बाटोमा लागे । खेलकुदलाई पनि छाडेर गायनमा लागे । गाउनकै लागि जन्मिएका पंगेनी सायद गायनलाई छाडेर अन्य क्षेत्रमा लागेका भए आज सफलताको जुन उचाइमा छन् त्यो नमिल्न पनि सक्थ्यो ।

तर, गायनमा आज उनले जुन स्थान बनाएका छन् । त्यो स्थान साना दुखले बनाएको स्थान होईन । गीत गाउनकै लागि राजधानी छिरेका उनले राजधानी बसाइका सुरुवाती दिनमा धेरै संघर्ष गरेका छन् । अहिले अलि सुगम भयो त्यो फरक कुरा, उनी जुनबेला राजधानी आए त्यो समय साह्रै विकट थियो । त्यो समय गाउँबाट काठमाडौं आएर गर्नु पर्ने संघर्ष आज सम्झिदा कसरी पार गरे हुँला भन्ने लाग्छ । गीत गाउनकै लागि काठमाडौं आएका उनी सुरुमा अभिनय सिक्न थाले ।

केहि साथीहरुसँग पार्टनर सिपमा रुम लिएर बसेका उनी विहानै कक्षा लिन जान्थे, कक्षा सकेर बागबजारमा खाना खान्थे । त्यसपछि उनलाई खुब निद्रा लाग्थ्यो । साथीहरुसँग राम्रोसँग घुलमिल हुन नसकेका उनका साथिहरु दिउँसोको समय कोठामा ताल्चा लगाएर आफ्नो काममा जान्थे । त्यसपछि बद्रीको निद्रोको सिरानी आफैंले खुट्टामा लगाएको चप्पल बन्थ्यो रत्नपार्कको छातीमा । रत्नपार्कमा उनले थुप्रै सपना देखेका छन् । रन्तपार्कमा दिनभर मिठो निद्रा सहित सुत्ने पंगेनी साँझ भने ‘पुकार दोहोरी साँझ’मा गीत गाउँथे । पुकार दोहारी साँझबाट नै हो पंगेनीको लोक गायनमा बाटो बनेको ।

स्कुल जीवनमा खुब प्रेम पत्र लेख्ने उनले धेरैलाई प्रेम पत्र लेखेनन् । जसलाई प्रेम पत्र लेखे उनैलाई जीवन संगीनिका रुपमा घरमा भित्र्याए । उनकी श्रीमतीसँग पत्रमै दोहोरी पथ्र्यो । अनुशाशित बाल्यकाल बिताएका पंगेनी किशोराअवस्थामा भने कमेडी धारमा देखिए । हुनत सानामा पनि उनी जति हुनु पथ्र्यो त्यति अनुशासित चाहीँ थिएनन् । ठाउँ पाएका बेला बोली हाल्नु पर्ने स्वभावका उनलाई साथीहरुसँग ठूलो बन्न पनि रमाईलो लाग्थ्यो । त्यो बेलाको समय केटा र केटीबीच बात मार्ने, संगैबस्ने, खाने प्रचलन नै थिएन । एकअर्कासँग बोल्न डराउने त्यो समय उनले केटीसँग के छ भनेर हात मिलाए । तर, त्यसको भोलिपल्ट उनका साथीहरुले बद्रीले २ रुपैयाँ लिएर केटीसँग हात मिलायो भनेर हल्ला चलाए । त्यसपछि भने उनी क्रमिक रुपमा अलि व्यवहारिक बन्दै गए ।

७ कक्षा तिरैबाट प्रेम पत्र लेखेर आफ्नी बनाएकी कल्पनासँग सहयात्राका सुरुवाती दिनहरु केहि तनावपूर्ण भए । व्यक्तिगत कारणले भन्दा कलाकार र कला जीवनका बारेमा नबुझ्दा एकअर्कालाई बुझ्न र बुझाउन निक्कै गाह्रो भयो कल्पना र बद्री दुबैलाई । त्यसैले पनि यो जोडीमा निक्कै उतार चढाव आए । तर, जब कला र कलाकारिता बिषयमा कल्पनाले बुझ्दै गइन तब यो जोडीका बिचका दरारहरु आफै पुरिँदै गए । अहिले गायनमा कल्पनाको पूर्ण साथ र सहयोग छ पंगेनीलाई । कल्पनाको साथले नै हो गायनमा पंगेनीले गरेको उल्लेख्य प्रगतिको सहज र सरल यात्रा ।

२०५५ सालबाट औपचारिक गायन यात्रा थालेका पंगेनीलाई ‘पिएन क्याम्पस’ बोलको लोक गीतले लोक गायनका क्षेत्रमा एक हिसावले चिनायो । त्यसपछि ‘ससुरालीमा’ बोलको गीतले उनलाई यो क्षेत्रमा स्थापित बनायो । ससुरालीमा पछि उनले कहिल्यै पनि पछाडी फर्केर हेर्नु परेन । त्यसोत नेपालका सन्दर्भमा गीत गाएरै बाँच्न सक्ने अवस्था अझै बनिसकेको छैन । राज्यले पनि कलाकारितालाई त्यति प्राथमिकता दिएको पाईंदैन । त्यसैले पनि उनले जीवनयापनका लागि ‘निरमाया दोहोरी साँझ’ सञ्चालनमा ल्याएका छन् ।
भिडियो हेर्न यस लिंकमा क्लिक गर्नुहोस 

0 comments

Write Down Your Responses