आज दिउँसो दुई बजे एसएलसी परीक्षाको नतिजा सार्वजनिक हुँदै
काठमाडौँ, २ असार - परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा आज बिहीबार सार्वजनिक गर्ने भएको छ।
परीक्षा नियन्त्रक कृष्ण काप्रिका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा भइसकेको छ। बिहीबार दिउँसो दुई बजेतिर नतिजा प्रकाशन गर्छौ होला, काप्रिले बुधबार भने, केहि प्राविधिक काम मात्र बाँकी छ। कुनै बाहिरी समस्या आएन भने बिहीबार नतिजा प्रकाशन गर्छौँ।
पनिकाले यस वर्षदेखि पहिलो पटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्न लागेको छ। ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाईन्ट एभरेज जिपिए मध्ये विद्यार्थीको प्राप्ताङक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिनेछ।
एसएलसी गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक हुन लागेको हो।
परीक्षा सञ्चालन हुने बित्तिकै उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुर्याउन लाग्ने समय, परीक्षण केन्द्रमा परीक्षण गर्न लाग्ने समयवधि तथा परीक्षण गरेपछि कति दिनभित्रमा केन्द्रमा नतिजा पठाउनेसम्मका विषयमा कार्ययोजना बनाइएकोले काम छिटो भएको काप्रिले बताए।
परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना विद्यार्थी सहभागी छन्। पनिकाको तथ्याङ्क अनुसार यसवर्ष छात्रको तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी छन्। कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना छन्। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र छन्।
त्यस्तै, आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी हुँदैछन्। प्राविधिक धारका ३ हजार दुइ सय जना परीक्षार्थी छन्। जसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र छन्।
sorce DC nepal


0 comments
Write Down Your Responses