सहमतिमा सेक्स सामान्य कुरा हो, ठूलो मुद्धा बनाउनु पर्दैनः नायिका शुभेच्छा
नेपाली चलचित्र जगतमा शुभेच्छा थापा लोकप्रिय नायिका हुन् । चलचित्र क्षेत्रमा अहिलेका व्यस्त नायिका मध्येकी एक हुन् नायिका थापा । ‘मिस नेपाल’,विन्दास ३,‘प्रहार’,‘ म को हुँ’, जस्ता सुपरहिट चलचित्रमा अभिनय गरिसकेकी नायिका थापाले अहिलेसम्म ४० चलचित्रमा नायिकाको भुमिका निर्वाह गरिसकेकी छन् । सानैदेखि रंगमञ्चवाट आफ्नो कलाकारिता यात्रा सुरु गरेकी नायिका थापाले ६० भन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन् । तर अहिले भने उनको परिचय नायिकामा मात्र सिमित रहेन,उनी एक चलचित्र निर्माता पनि हुन् । चलचित्र‘मखमली’बाट उनी चलचित्र लेखक पनि भएकी छन् । प्रस्तुत छ, लगनशिलता र परिश्रममा विश्वास गर्ने नायिका थापासंग गरिएको कुराकानी…
१. कलाकारिता क्षेत्रमा कसरी लाग्नुभयो ?
– मेरो कलाकारिताको सुरुवात रंगमञ्चवाट भएको हो । म बाल्यकालदेखि नै यो क्षेत्रमा लागेको हो । म सानैदेखि लजालु स्वभावको थिए । तर रुचि चलचित्र खेल्ने थियो । मेरो आमा नेपाली गीतसंगीत र चलचित्रलाई असाध्यै माया गर्नुहुन्थ्यो । त्यसैले मेरो आमाको प्रेरणा र मेरो रुचिले म यो क्षेत्रमा प्रवेश गरे । बद्रि अधिकारीको टेलिश्रृङ्खला‘सहयात्री’वाट मेरो औपचारिक कलाकारिता क्षेत्र सुरु भएको हो । मैले नायिकाको भुुमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘ध्रुव’ हो ।
२.चलचित्र क्षेत्रमा लागेको लामो समय भयो । यो क्षेत्रका समस्याहरु के–के छन् ?
– अरु क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि धेरै समस्याहरु छन् । नेपाली चलचित्रको सानो बजार छ । कलाकारहरुले काम अनुसारको पैसा पाउन सकेका छैनन् । नेपाली समाजको सामाजिक मुल्य र मान्यताले यो क्षेत्र समयअनुसार जति अगाडी बढ्नुपर्ने हो त्यति बढ्न सकेको छैन । यो क्षेत्र व्यवस्थित पनि छैन् । यसलाई व्यवस्थित बनाउन नत राज्यले ध्यान दिएको छ नत यस क्षेत्रमा काम गर्ने पक्षहरु नै संवेदनशील छन् । चलचित्र क्षेत्र व्यवस्थित नभएकै कारण बेलाबखत विभिन्न नकारात्मक हल्लाहरु चल्ने,यो क्षेत्रप्रति समाजले टिकाटिप्पणी गर्ने र नराम्रो दृष्ट्रिले हेर्ने प्रवृत्ति बढेको छ ।
३.चलचित्र क्षेत्रमा धेरै शारिरीक र आर्थिक शोषणा हुन्छ । यो बारे तपाई के भन्नु हुन्छ ?
– हो । यो क्षेत्रमा शारिरीक र आर्थिक दुवै शोषणा छ । कसैले नचाहँदा नचाहँदै पनि यी विकृति देखा परेका छन् । चलचित्र क्षेत्र आत्मनिर्भर अर्थात आर्थिक रुपले सबल तथा सक्षम हुन सकेको छैन । कलाकारहरुले उचित पारिश्रमिक पाउन सकेका छैनन् ।
यसैगरी यो क्षेत्रमा शारिरीक शोषण पनि छ । आश्वासन,बाध्यता लगायतका कारणले शारिरीक शोषणको सिकार हुनुपरेको छ । रातारात हिट हुने(छोटो समयमै चर्चित हुने),चलचित्र खेल्न पाउने,राम्रो आम्दानी गर्न सकिने मनोवृत्तिले शारिरीक शोषणलाई बल पुगेको छ । नायिका भएपनि त्यहि अनुसारको मेन्टिनेन्स गर्नै पर्यो । तर यो मेन्टिनेन्स गर्नको लागि चलचित्रमा काम गरेर पैसाले मात्रै पुग्दैन । किनकी कलाकारले उचित पारिश्रमिक पाउँदैनन् । त्यसकारण बाध्यताले पनि शारीरिक सम्झौता गर्नुपर्ने बाध्यता कतिपय कलाकारहरुको छ । यो बाहेक मनखुसी अर्थात सहमतिमै यौनसम्पर्क गर्नु त सामान्य कुरा हो । त्यसलाई कसैले पनि अन्यथा वा गलत कामको रुपले हेर्नुहुदैन् । किनकी मानवको जीवनमा सेक्स प्राकृतिक कुरा हो । सहमतिमा सेक्स गरेको कुरालाई ठुलो मुद्धा बनाउनु आवश्यक छैन् ।
४.तपाईलाई यौनसम्पर्कको प्रस्ताव कति आउँछ ?
– म एउटा पब्लिक फिगर हो । धेरैले मलाई चिन्नुहुन्छ । सेक्स प्रस्ताव आउँछन् । सेक्स प्रस्ताव राख्नु अनौठो होइन् तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मुख्य हो । सेक्स प्रस्ताव आउनुलाई नै गलत मान्नुहुन्न ।
५.कसैले राखेको सेक्स प्रस्ताव स्वीकार गर्नुभएको छ ?
– छैन् । मलाई आवश्यक छैन् । मेरो आफ्नै छ ।
६.पहिलो सेक्सको अनुभव ?
– यो व्यक्तिगत कुरा हो, यो विषयमा धेरै व्याख्या नगरौ (हाँस्दै) । जोसंग मैले फस्ट सेक्स अनुभव लिए अहिले पनि त्योसंग जारी छ । त्यो भन्दा बाहेक छैन् । तर किशोरावस्थामा गरेको सेक्स मायाले होइन कि रहर अर्थात शारिरीक आवश्यकता जस्तो मात्रै हुन्छ । रहर पुरा गर्नलाई जस्तो मात्र ।
७.विशेष गरी नवप्रवेशी कलाकारहरुको कारण यो क्षेत्रमा शारिरीक शोषणको विकृति बढेको भन्ने छ नि ?
– यो कुरालाईमा नकार्न सक्दैन् । किनकी पुराना र स्थापित भईसकेका कलाकारलाई यो आवश्यक छैन् । तर नवप्रवेशी कलाकारहरु ठुलो आकांक्षा बोकेर आएका हुन्छन् । त्यसैले आफ्नो आकांक्षा पुरा गर्न उनीहरु गलत काम गर्न पनि तयार हुन्छन् । त्यसैले यो क्षेत्रका विषयमा विभिन्न हल्ला फैलिन्छन् । एक दुई जनाको कारण यस्ता कृयाकलाप हुन्छन् त्यसपछि अन्यले पनि त्यहि प्रवृत्तिको सिको गर्छन । त्यैसैले म नवप्रवेशी कलाकारहरुलाई के भन्न चाहन्छु भने रहर गरेर मात्रै हुँदैन । यो क्षेत्रमा लाग्नको लागि कला चाहिन्छ,ज्ञान चाहिन्छ र सवैभन्दा ठुलो कुरा आत्मविश्वास चाहिन्छ । यो क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिलो आफु सक्षम भएर आउनुस् तपाईलाई कसैले पनि तपाईको इच्छा विपरित गर्न सक्दैन् ।
८.यो क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन अर्थात यो क्षेत्रका समस्या समाधान गर्न के गर्नुपर्ला ?
– सर्वप्रथम यो क्षेत्र आर्थिक रुपले सवल हुनुपर्छ । कलाकारहरुले उचित पारिश्रमिक पाउनुपर्छ । म स्वयम् निर्माता भएको हैसियतले पनि कुरा नढाटी भन्नसक्छु कि कलाकारले उचित पारिश्रमिक पाउनै सकेका छैनन् । यो क्षेत्र आर्थिक रुपले सवल हुनको लागि चलचित्र क्षेत्र उद्योगका रुपमा आउनुपर्छ । सरकारवाट यो क्षेत्रलाई भनेर बजेट आउँदैन । सरकारलेपनि यो क्षेत्रलाई उद्योगको रुपमा लिएर बजेट दिनुका साथै व्यवस्थित गर्नुपर्यो । यो क्षेत्रको विकासको लागि चलचित्र विकास बोर्ड गठन गरिएको छ । तर वोर्डले कलाकार र यो क्षेत्रको हितका लागि केहिपनि काम गर्न सकेको छैन् । त्यसैले वोर्डले कलाकारको हितको लागि काम गर्नुपर्यो । चलचित्रलाई उद्योगको रुपमा विकास गर्न सकियो भने मात्र यो क्षेत्र व्यवस्थित र मर्यादित हुन्छ ।
९.तपाईका आगामी योजना के छ ?
–अहिले म चलचित्र ‘मखमली’को प्रमोसनमा छु । मलेसिया,सिंगापुर,कतार,हङ्कङ्,लगायतका मुलुकहरुमा यो चलचित्र प्रर्दशनको क्रममा छ । यसैको प्रमोसनमा लागिरहेको छु । छिट्टै मलेसिया लगायतका मुलुक जाने तयारी छ । तिहार पछि चलचित्र मखमलीलाई नेपालभित्र प्रर्दशन गर्ने तयारी छ । यस्तै,२ वटा चलचित्र रिलिज हुन बाँकी छ । यसको तयारीमा पनि लागिरहेको छु ।
१०.अन्तमा, दर्शकहरुलाई के भन्न चाहनुहुन्छ ?
– कलाकारहरुको लागि सम्पुर्ण सम्पत्ति भनेको दर्शक हुन् । त्यसैले दर्शकहरुलाई नेपाली चलचित्र हेरिदिन र माया गरिदिन आग्रह गर्छु । प्रर्दशन भएको नेपाली चलचित्रलाई हेरेर मात्र टिप्पणी गरिदिन अनुरोध गर्छु । कलाकारप्रतिको नकारात्मक दृष्ट्रिलाई परिर्वतन गरिदिन आग्रह गर्छु ।


0 comments
Write Down Your Responses