‘म चौबन्दी चोलोको बेलाकी हिरोइन् हुँ । त्यो बेला जति छोपियो उति राम्रो भनिन्थ्यो । अहिले जमाना बदलिएको छ, जति उदांगियो उति राम्रो भन्ने छ,’
म माला सिन्हाकी छोरीको भूमिका खेल्छु, तर आमासँग बोल्ने मलाई कुनै त्यस्तो डायलग दिनुस्, जसले आमाकी छोरीको बेग्लै अस्तित्व होस् । उहाँले डायलग त छैन, तर एउटा गीत दिन सक्छु भन्नुभयो । उहाँले डायलग दिन नसक्ने बताएपछि मैले माइतीघरमा खेलिन् । मैले नखेलेपछि उहाँले प्रचार गर्नुभयो कि भुवनले ‘डिमान्ड’ गरी, २५ हजार मागी, त्योबेला २५ हजार किन मागुँला हामीलाई पाँच हजार त थाहा थिएन ।
ध्रुवसत्य परियार
‘म चौबन्दी चोलोको बेलाकी हिरोइन् हुँ । त्यो बेला जति छोपियो उति राम्रो भनिन्थ्यो । अहिले जमाना बदलिएको छ, जति उदांगियो उति राम्रो भन्ने छ,’ कफीको चुस्की लिँदै भुवनले भनिन् ।
भुवन चन्द, नेपाली भाषाको पहिलो चलचित्र ‘आमा’की नायिका । आमा नेपालमा प्रदर्शन भइरहँदा उनी चीनमा थिइन् । नेपाली तत्कालीन सत्ताअनुरुपको संस्कृति चीनलाई चिनाउँदै थिइन् । यता, नेपालमा नायिकाको रुपमा उनको चर्चा चल्दै थियो ।
भुवनले अहिलेसम्म तीन दर्शन जति नेपाली फिल्ममा अभिनय गरेकी छिन् । यो बीचमा झन्डै चार दशकजति नाचघरमा सेवा गरिन् । नाचघरमा उनको काम रंगमञ्चकै थियो । उनी नेपाली रंगमञ्चको रेखामा निरन्तर उभिइरहिन् र उभिइरहेकी छन् ।
उनले अभिनय गरेको पछिल्लो चलचित्र हो— तीन घुम्ती, जुन बीपी कोइरालाको कृति हो । आमादेखि तीन घुम्तीसम्म आइपुग्दा भुवनले कस्ता–कस्ता घुम्तीहरू हिँडिन् त ? उनले नेपाली फिल्ममा काम गर्न सुरु गर्दाको समय कस्तो थियो होला ? यही जिज्ञासा लिएर हामी महाराजगन्जस्थित उनको निवासमा पुग्यौँ । उनले आफ्नो बैठककोठाको सामान देखाउँदै भनिन्, ‘यी सामान चलचित्र तीन घुम्तीको सेटमा प्रयोग भएका छन् ।’
मेरी सानी छोरी छे, भुवन ।’
नाटककार बालकृष्ण समले भैरवबहादुर थापालाई सोधेका थिए, ‘मलाई एउटी बालकलाकार चाहिएको छ, कोही छ ?’
भैरवबहादुरले पाँच वर्षकी भुवनलाई लिएर गए । यो २०१० सालको कुरा हो । बालकृष्ण समको लेखन र निर्देशनमा नाटक अन्धवेग मञ्चन हुँदै थियो । समले एउटी महिला कलाकार भेटिसकेका थिए— शान्ति मास्के ।
उनकी छोरीको भूमिकामा खेल्न एउटी बालकलाकार आवश्यक थियो, भुवन भेटिइन् । जतिबेला भुवन ५ वर्षकी थिइन् ।
भुवन काठमाडौंमा जन्मेकी हुन्, २००६ सालमा । उनका बुवा उस्ताज भैरवबहादुर थापा रेडियो नेपालका जागिरे थिए ।
रेडियो नेपाल भुवन खेल्ने आँगन
बाबुले सानोमा भुवनलाई रेडियो नेपाल लिएर जान्थे । बाल कार्यक्रमहरूमा बोल्न लगाउँथे । रेडियो नेपाल उनका लागि खेल्ने आँगनजस्तै थियो । भुवन भन्छिन्, ‘रेडियो नेपालमा नातिकाजी, शिवशंकर, पुष्प नेपालीहरूको म प्यारी छोरी–बैनी थिएँ । नातिकाजीले त बाँच्दासम्म नै मलाई छोरी भन्नुभयो, तँ भनेर सम्बोधन गर्नुहुन्थ्यो ।’
रेडियो नेपालमा भुवनले अरुले गाएको हेरिन्, बजाएको हेरिन् । बाल कार्यक्रममा बोलिन्, समूह गायनमा गाइन्, यसरी नै उनले गाउन सिकिन्, संगीतको ज्ञान नलिएरै । भन्छिन्, ‘बुवा गायक रगतमै आउँदो रैछ सायद, मैले अरुले गाएको हेरेरै गाउन सिकेँ । यो नाचगान भन्ने कुरा जन्मजातै आउँदो रैछ ।’
लोक, आधुनिक, स्वदेशगान गरेर झन्डै ३०–४० गीत भुवनले रेडियो नेपालमा गाएकी छिन् । ‘दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन’ बोलको गीत तारादिदी र मैले गाएका हौँ,’ भुवन भन्छिन्, ‘यो चेतन कार्कीको पहिलो गीत हो ।’
रंगमञ्च यात्रा
अन्धवेग सिंहदरबारको पुतली बगैँचामा देखाइएको थियो, सानो हलमा । जहाँ तत्कालीन शासकहरूले नाटक हेर्थे । त्यो नाटक हेर्न मानिसहरू टिकट काटेरै आएजस्तो भुवनलाई लाग्छ, तर स्पष्ट सम्झना छैन ।
त्यसपछि उनी डबलीहरूमा नाच्न थालिन्, त्यतिबेला काठमाडौंका डबलीहरूमा नाचगान हुन्थ्यो । त्यही बेला काठमाडौंमा केही संस्था जन्मन थाले । जस्तो नास खलः, जननाट्य परिषद्, कलाकेन्द्र ।
कला केन्द्र गोपालप्रसाद रिमालका दाइ कृष्णप्रसादले खोलेका थिए । त्यसमा भुवन पनि आबद्ध थिइन्— नाटक खेल्थिन्, नाचगान गर्थिन् । कला केन्द्रबाट भुवनले थुप्रै नाटक खेलिन् । भुवन भन्छिन्, ‘मलाई याद भएको नाटक हो, डोलामैयाँ, जाली रुमाल । डोलामैयाँ कृष्णप्रसाद रिमालको निर्देशनमा मञ्चन भएको थियो ।’
नाचघर
गाउँदा, नाटक खेल्दाखेल्दै भुवन काठमाडौंको रंगमञ्च माहोलमा कलाकार बनेर चिनिइसकेकी थिइन् । नाचघर खुलेपछि त्यहाँ कलाकार चाहिने भयो । चिनजान र सक्रियताको आधारमा भुवनले नाचघरमा करारमा जागिर पाइन्, ०१८ सालमा, मासिक सय रुपैयाँ तलबमा । ०३३ सालमा उनी नाचघरमा स्थायी कर्मचारी भइन् । नाटक क्षेत्रको अधिकृत भएर ०६२ सालमा अवकाश पाइन् ।
भुवनले प्राइभेटबाट एसएलसी गरेकी छिन् । रत्नराज्यमा आईएमा भर्ना पनि भइन् तर पढाइलाई निरन्तरता दिन सकिनन् । भन्छिन्, ‘नाचगान भन्ने चिज लागू औषध जस्तो हुँदो रैछ । त्यसमा मन गएपछि पढाइ त्यस्तै भयो ।’
सुरुमा उनले नृत्य निर्देशक वसन्तजंग रायमाझीसँग नृत्य सिकिन्, रायमाझी बलिउड जानुअघि नै । पछि उनकै बुवाका नाम भएका अर्का कलाप्रेमी भैरवबहादुर थापासँग नृत्य सिकिन् । भैरवबहादुरले भैरव नृत्य दल खोलेका थिए ।
जब छोरीलाई बाउले साथ दिन्छन्
भुवनका बुवाले चारवटी विवाह गरेका थिए, त्यतिबेला बहुविवाह सामान्यजस्तै थियो । भुवनकी आमा माहिली हुन् । भुवन हाँस्दै भन्छिन्, ‘मेरो बुवा गायक, आमाहरू त लट्ठिएरै आउनुभएछ ।’
भुवनकी आमा जिम्मावालकी छोरी हुन्, उनले छोरी कलाकारिताबाहेक अरु नै गरोस् भन्ने चाहन्थिन् । आमालाई जति छोरीको इज्जतको चिन्ता कसलाई हुन्छ र ?
‘त्यतिबेला छोरी नाचगानमा लाग्नुलाई हेयकै दृष्टिले हेरिन्थ्यो, समाजमा त्यति इज्जत थिएन,’ भुवन भन्छिन्, ‘बुवा गायक भएकाले कला क्षेत्रमा आएँ, बुवाकै सहयोगमा । छोरीलाई जब बाउले साथ दिन्छन्, सकियो, समस्या नै हुँदैन नि ।’
आमाका लागि अन्तर्वार्ता
चलचित्र निर्देशक हिरा सिंह खत्रीलाई राजा महेन्द्रले नेपाल बोलाए । यो ०२१ सालको कुरा हो । हिरा सिंह त्यतिबेला बम्बईमा काम गर्दै थिए । पहिले राजाको सवारी आदिको डकुमेन्ट्री खिच्न पनि कलकत्ता, बम्बईबाट मान्छे बोलाइन्थ्यो ।
पञ्चायती व्यवस्था, पञ्चायतको प्रचारकै लागि भनेर सरकारी लगानीमै चलचित्र आमा बन्ने भयो, सूचना विभागबाट ।
त्यतिबेला कलाकार त्यति थिएनन् । भर्खर–भर्खर प्रज्ञा प्रतिष्ठानले नाटक, नृत्य र संगीत सिकाउन थालेको थियो । राष्ट्रिय नाचघरमा नृत्य गर्ने, अभिनय गर्ने, गाउने कलाकार थिए ।
सूचना विभागले नाचघरबाट महिला कलाकारलाई बोलायो, आमामा खेल्नका लागि अन्तर्वार्ता लिन । जसमा भुवन पनि थिइन् । भुवनले अन्तर्वार्ता दिइन्, अन्तर्वार्ता दिएको धेरै महिनासम्म केही भएन ।
राजाले नाम लिएपछि
‘खोई हाम्री भुवन, यहाँ छैन कि क्या हो ?’ एकपटक राजा महेन्द्रले सोधेछन् ।
राजा महेन्द्र नाचघरमा नाटक–नृत्य हेर्न गइरहन्थे । राजाले नाम लिइदिए कलाकारलाई ठूलो कुरा हुन्थ्यो, हौसला हुन्थ्यो । एक दिन राजाले भुवनको नाम लिए छन् ।
भुवन भन्छिन्, ‘राजाले नाम लिएपछि अर्कै हुन्थ्यो । राजाले नाम लिएको भोलिपल्टै मैले भृकुटी नाटकमा खेल्न पाएकी थिएँ ।’
आमा चलचित्रका लागि अन्तर्वार्ता दिएपछि भुवन कहिले चौध अञ्चल भ्रमण, कहिले विदेश भ्रमणमा व्यस्त भइन् । पञ्चायतको प्रचारका लागि कलाकार चौध अञ्चलको भ्रमणमा गइरहन्थे ।
अहिले गणतन्त्रको गुणगान गाएजस्तो, उतिबेला चौध अञ्चलको भ्रमणमा पनि कलाकारले पञ्चायतको प्रचार गर्नुपथ्र्यो । ‘त्यो बेला राजालाई नयाँ–नयाँ नाटक, नृत्य देखाइरहनुपथ्र्यो । महेन्द्र कलाप्रेमी थिए । कहिलेकाहीँ हामी राजासँगै पनि जान्थ्यौँ,’ भुवन भन्छिन्, ‘बाहिर जिल्ला जाँदा कलाकार गाडामा जान्थौँ । गाडामा पाल राखिएको हुन्थ्यो, कहिले पानी पथ्र्यो, पाल चुहिन्थ्यो । तैपनि हामी हाम्रो कलाकारिता देखाउन गाउँ–गाउँ जान पाउँदा खुसी हुन्थ्यौँ ।’
गाउँगाउँमा कलाकारले विभिन्न नाटक देखाउँथे । नाटकलाई जनताले निकै विश्वास मानेर हेर्थे । एकपटक ‘राम–भरत मिलाप’ नाटक गाउँ–गाउँमा देखाइएको थियो । वृद्धवृद्धा नाटक हेर्न आएका थिए ।
भुवन सम्झन्छिन्, ‘कलाकारहरू राम–सीता, भरत बनेका थिए । तर, वृद्धवृद्धा आएर कलाकारलाई देवता नै सम्झेर पूजा गरे । समाज त्यति अन्धविश्वासमा थियो ।’
०००
जनकपुर चुरोट कारखानाको उद्घाटन गर्न राजा महेन्द्र जाँदै थिए । राजासँगै कलाकार पनि गएका थिए, भुवन पनि थिइन् । कलाकारले सामान्य होटलमा बसेर पुरी–तरकारी खाएका थिए । पारि लजमा एकजना रोयल फोटोग्राफर, निर्देशक हिरा सिंह र क्यामेराम्यान बसेर घाम ताप्दै थिए ।
भुवन सम्झन्छिन्, ‘रोयल फोटोग्राफर मंगलमानदाइ भन्ने हुनुहुन्थ्यो । उहाँले हामीलाई बोलाउँदै हात हल्लाउनुभयो । यसो हेरेको त डाइरेक्टरसाब (हिरा सिंह), हामीले तलैबाट नमस्ते गर्यौँ, आमा चलचित्रका लागि अन्तर्वार्ता दिएका म, विमला र चैत्यदेवीले । त्यहाँ मेरो कुरा भएको पछि मंगलमान दाइबाट सुने ।’
‘ए म त हिरोइन् पो भएँछु !’
भुवनका बुवाले बहुविवाह गरेका, घरमा थुप्रै आमाहरू थिए । नाचघरको जागिरे भएपछि भुवन आफ्नी आमालाई लिएर ठमेलमा बस्न थालिन्, डेरामा उनको डेराअगाडि कालो बेन्ज कार आएर रोकियो ।
इन्द्रनारायण श्रेष्ठ भन्ने रेडियो नेपालमा तबलावादक थिए । कारमा उनै थिए । उनी निर्देशक हिरा सिंहको कार चढेर आएका रहेछन्, भुवनलाई बोलाउन । चलचित्र आमामा खेल्न भुवनलाई मेकअप सुट गर्छ कि गर्दैन भनेर टेस्ट गरिँदै रहेछ । टेस्ट गरियो, भुवन फिल्म खेल्न थालिन् ।
‘चोभारमा लगेर गीतमा नाच्न लगाइयो । गीतमा हिरो त रविशंकरदाइ हुनुहुँदो रहेछ, हामी निर्देशकले भनेबमोजिम गर्यौँ । बल्ल मैले थाहा पाएँ, ए म त हिरोइन् भएँ छु,’ भुवन भन्छिन्, ‘हिन्दी फिल्म हेरेर बुझेकी थिएँ, गतिमा हिरो र हिरोइन् नाच्छन् भन्ने ।’
यो फिल्म नेपाल र कलकत्तामा सुटिङ भयो । फिल्ममा काम उनले जागिरकै रुपमा गरिन् । फिल्म खेलेबापत कुनै पैसा पाइनन् । भन्छिन्, ‘फिल्म नै सरकारी लगानीमा बनेको, त्यसैले नाचघरबाट हामीलाई काजमा खटाइएको थियो । हामीले तलब–भत्ताबाहेक केही पाएनौँ ।’
आमा ०२२ सालमा प्रदर्शन भयो, प्रदर्शन हुँदा भुवन चीनमा थिइन् । यो फिल्म राजा महेन्द्रले पनि हेरेर भुवनको प्रशंसा गरे, यो कुरा निर्देशक हिरा सिंहले भुवनलाई कलकत्तामा भेटेर भने, भुवन चाइनाबाट फर्केर कलकत्ता आएकी थिइन् । भुवन भन्छिन्, ‘राजाबाट प्रशंसा भएको छ कुरा सुन्दा मलाई निकै खुसी लाग्यो । पछि मलाई राजाबाट पाँच हजार बक्सिस भयो, महेन्द्र आभूषण पनि पाएँ ।’
त्यतिबेला नयाँ समाज र जनआवाज भन्ने पत्रिका थिए । ती पत्रिकामा भुवनको अभिनयबारे समाचार छापिएका थिए । भुवन भन्छिन्, ‘मेरो अभिनयको प्रशंसा गरेर समाचार आएका थिए । कलकत्ताबाट नेपाली न्युजपेपर निस्कन्थ्यो, त्यसमा पनि मेरोबारे सकारात्मक कुरा आएको थियो ।’
त्यो सम्मान
नेपाल र चीनको झन्डा बोकेर थुप्रै मानिस बसेका थिए, स्वागतका लागि । नेपाली कलाकारको टिम चीनको विमानस्थलमा ओर्लिएको मात्रै थियो । कलाकारले सम्झे— यहाँ नेपालका मन्त्री वा राज–सदस्य कोही आएको हुनुपर्छ, यति ठूलो स्वागत त ठूला पदका मानिसलाई पो हुन्छ ।
भुवनलगायत कलाकारहरू विमानस्थलमा रोकिए । तर, केहीबेरसम्म त्यो स्वागत थाप्न कोही आएन । बरु केही मानिस उनीहरूलाई नै बोलाउन आए । त्यो स्वागत नेपाली कलाकारलाई नै थियो ।
भुवन भन्छिन्, ‘त्यति ठूलो स्वागत कलाकार जिन्दगीमा हामी कसैले पनि पाएका, देखेका थिएनौँ । त्यसैले सुरुमा पत्याएनौँ, त्यो हामी कलाकारका लागि रहेछ । उतिबेला कलाकारलाई उस्तो सम्मान थियो ।’
भुवनसहितका कलाकार चीन गएका थिए, ०२२ सालतिरको कुरा हो यो । त्यो बेला एक–अर्को देशबीच संस्कृति आदान–प्रदान हुन्थ्यो । कलाकारहरू रसिया, चीन, इरानलगायत देश गएर आफ्नो देशको संस्कृति झल्कने सिर्जना प्रस्तुत गर्थे ।
माला सिन्हासँग बोल्ने डायलग नपाएपछि…
चलचित्र माइतीघरमा खेल्न भुवनलाई अफर आएको थियो— हिरोइन्की छोरीको भूमिका निभाउनुपथ्र्यो । भुवनले फिल्मका लागि मैले अन्तर्वार्ता दिनुभन्दा अघिको कुरा हो यो । भुवनलाई निर्देशक बिएस थापाले बोलाएर कुरा गरेका थिए । भुवनले बलिउड नायिका माला सिन्हाकी छोरीको भूमिका निभाउनुपर्ने थियो ।
‘मैले हुन्छ भनेकी थिएँ । यो मौखिक मात्र थियो, लिखित थिएन । यत्तिकै भयो । म आमा चलचित्रमा हिरोइन् भएँ । राम्रो प्रशंसा पाएँ,’ भुवन भन्छिन्, ‘पछि फेरि बिएस थापाले मलाई बोलाउनुभयो । मैले खेल्छु भनेँ, तर केही सर्त राखेँ । किनभने, मैले फिल्ममा आफ्नो भूमिकाले पार्ने प्रभावलाई बुझिसकेकी थिएँ । मैले बिएस डाइरेक्टर साबलाई भनेँ— म माला सिन्हाकी छोरीको भूमिका खेल्छु, तर आमासँग बोल्ने मलाई कुनै त्यस्तो डायलग दिनुस्, जसले आमाकी छोरीको बेग्लै अस्तित्व होस् । उहाँले डायलग त छैन, तर एउटा गीत दिन सक्छु भन्नुभयो ।’
फिल्मको गीतमा नाचेर वा अभिनय गरेर मात्रै संवादले जस्तो प्रभाव नहुने भुवनको बुझाइ थियो । उनले संवादमै जोड दिइन् । उनी भन्छिन्, ‘उहाँले डायलग दिन नसक्ने बताएपछि मैले माइतीघरमा खेलिन् । मैले नखेलेपछि उहाँले प्रचार गर्नुभयो कि भुवनले ‘डिमान्ड’ गरी, २५ हजार मागी, त्योबेला २५ हजार किन मागुँला हामीलाई पाँच हजार त थाहा थिएन ।’
०२४ सालतिर भुवनले अर्को फिल्म खेलिन्— हिजो, आज, भोलि । यो फिल्म पनि सूचना विभागकै निर्माण थियो । यसपालि भने फिल्म खेल्न भुवनले पाँच हजार रुपैयाँमा एग्रिमेन्ट नै गरिन् । यो फिल्ममा राणाशासनले दुःख दिएको प्रसंग छ । यो पनि नेपाल र कलकत्तामा सुटिङ भयो ।
बिहे
भुवनको बिहे माइकल चन्दसँग भयो, ०३३ मा । त्यतिबेला रेडियो नेपालका अंग्रेजी न्युजकास्टर थिए, हरिश चन्द । उनको रेडियो नेपालमा चर्चित कार्यक्रम थियो, म्युजिक मेनिया, उनले यो कार्यक्रम माइलक चन्दको नाममा चलाउँथे । हरिशको नागरिकताको नाम माइकल डी चन्द ठकुरी छ । माइकलको पुख्र्यौली घर बैतडी हो । उनका बुवा बर्मामा व्यापारी थिए । माइकलको शिक्षादीक्षा बर्मामै भयो ।
भुवन भन्छिन्, ‘बर्मामा पढ्दा नाम अंग्रेजी हुनुपर्ने त्यस्तै के रहेछ । त्यसैले उहाँको नाम माइकल राखिएको रैछ । पछि नेपाल फर्केर रेडियो नेपालमा जागिर गर्नुभयो । समाचार भन्दा नाम अंग्रेजी भएकाले नेपालीपन ल्याउन हरिश चन्द बनाउनुभएको रैछ ।’
राष्ट्रिय नाचघरमा विदेशीहरू पनि आइरहन्थे । उनीहरूलाई अंग्रेजीमा स्वागत–सत्कार गर्नुपथ्र्यो । अंग्रेजी राम्रो भएकाले रेडियो नेपालबाट करारको रुपमा माइकल नाचघर आए । यही बेला भुवन र माइकलको चिनजान भयो । सम्बन्ध भावनात्मक र गाढा बन्दै गयो । नाचघरको काम सकेर उनीहरू चियाखाजा खान बाहिर निस्कन्थे ।
माइकल जर्मनी जाने भए, दुई वर्षका लागि । दुई वर्ष भेट नहुने भएपछि उनीहरूले बिहे गर । भुवन भन्छिन्, ‘बिहे गरेको भोलिपल्टैजसो उहाँ जर्मनी जानुभयो, म मस्को गएँ । पछि म पनि जर्मन गएँ, नाचघरमा बिदा लिएर ।’
भुवन जर्मनी जानुअघि बिहे भोज दिइन् । नाचघरमा स्वरसम्राट नारायण गोपाल पनि कर्मचारी थिए । भुवन भन्छिन्, ‘मेरो बिहेमा नारायण गोपालदाइले रक्सी बनाउनुभएको थियो । भुवन रमाइलो गर्नुपर्छ भन्दै उहाँ निकै लाग्नुभएको थियो, उहाँ रमाइलो मान्छे हुनुहुन्थ्यो ।’
भुवनका तीन छोरी छन्— शिला, शीतल र शिरीष । तीनैजना अहिले अमेरिका छन् ।
कतिले पारिश्रमिक दिँदैनन्
भुवनले धेरै फिल्म खेलिनन् । नाचघरको जागिरले पनि उनले समय दिन पाइनन् । अर्को, नायिका भइरहन उमेरले पनि साथ दिएन । भुवन भन्छिन्, ‘ हिरोइन्को उमेरको पाबन्दी हुँदो रैछ । पछि–पछि चरित्र अभिनेत्रीको रुपमा खेल्न थालेँ । त्यतिबेला नेपाली सिनेमाले टाउको उठाउन खोज्दै थियो, फिल्म निकै कम बन्थे ।’
भुवनले कैयौँ फिल्ममा पारिश्रमिक पाएकी छैनन् । उनले युवराज लामाका धेरै फिल्म खेलेकी छिन् । भन्छिन्, ‘युवराज लामाले राम्रो पैसा दिनुहुन्छ, अरु धेरैले दिएका छन् । तर, कतिले मेरो पहिलो प्रयास हो दिदी, सहयोग गर्नुपर्यो भन्छन् । मन लाग्यो भने खेलिदिन्छु, पैसाको कुरै गर्दिनँ । उनीहरूमध्ये कतिले पैसा दिएका छैनन् ।’


0 comments
Write Down Your Responses