बक्सिङ खेलाडी इन्द्रबहादुर पुनको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर दशरथ रंगशालामा
बक्सिङका राष्ट्रिय खेलाडी इन्द्रबहादुर पुन मगरको निधन भएको छ। आठौ दक्षिण एसियाली खेलकुद साफका काँस्य पदक विजेता इन्द्र बहादुरको बिहीबार राति ललितपुरस्थित हरिसिद्धी नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।
४७ वर्षीय पुन विगत दुई वर्षदेखि क्यान्सर रोगले ग्रसित थिए। बिहीबार राति निधन भएका उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि (आज)शुक्रबार बिहान ९ बजे देखि दशरथ रंगशालामा राखिएको छ।
उनको पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव बहादुर बिष्ट, बक्सिङ संघका अध्यक्ष राम अवाले, सिनियर कोच प्रकाश थापा, खेलाडी, शुभचिन्तकहरु त्रिपुरेश्वर स्थित दशरथ रंगशाला पुगेका छन्।
२०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका उनी १० वर्षपछि सेवाबाट अवकास लिएका थिए। यस्तै पुनले २०५३ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका थिए।
श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरलाई गृह जिल्ला तनहुँ लगेर आजै अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।


0 comments
Write Down Your Responses