सुटिङ हेर्न केदार घिमिरे, सीताराम कट्टेल, दमन रुपाखेती लगायत थुप्रै अहिलेका चर्चित आदरणीय दाइहरू पनि जानुहुन्थ्यो,’ अर्जुन भन्छन्, ‘सुटिङमा सन्तोष दाइलाई पानी चाहियो भने एकैचोटि पानी लैजाने पाँचजना हुन्थे होला, सबै सानो रोल पाइन्छ कि भनेर धाएका हुन्थे

ध्रुवसत्य परियार

‘काका, मासु त सप्पै बाटैभरि छ त, चुहाउँदै ल्याउनुभाछ,’ अर्जुनले कलाकार सन्तोष पन्तलाई भने । सन्तोष पन्तले पसलबाट मासु ल्याएका हुन्छन् । कुकुरले प्वाँल पारिदिएकाले मासु चुहिरहेको हुन्छ । अनि, अर्जुनले ताली पड्काउँदै माथिको संवाद बोल्नुपर्ने हुन्छ ।
अर्जुन घिमिरे उर्फ भद्रगोलका पाँडेले जीवनमा पहिलोपटक क्यामेरा फेस गरेको दृश्य हो यो ।

जतिबेला उनी ६ कक्षामा पढ्दै थिए, त्यस्तै ०५३ सालतिरको कुरा हो, झन्डै २० वर्ष भयो । तर, त्यो पहिलोपटक क्यामेरा फेस गर्दाको संवाद र दृश्य उनको मानसपटलमा उस्तै ताजा छ । त्यो दिन क्यामेराको अगाडि उनले गरेको त्यति मात्रै हो । भरे यो कुरा उनले दिदीलाई सुनाए । अनि, गाउँ फर्केर आफैंले हल्ला गर्दै हिँडे । कतिले त उनको कुरा पत्याएनन् पनि । तर, पछि त्यो दृश्य टेलिभिजनमा आयो ।

काठमाडौंबाट ल्याउने नाटक कस्तो होला ?

अर्जुनको घर नुवाकोट ओखरपौवा हो, जहाँ उनी ९ असोज ०४२ मा जन्मेका हुन्, एक साधारण किसान परिवारमा । गाउँमा सिनियर दाइहरूले काठमाडौंबाट नाटक लैजाने भए, दशैंको अवसर पारेर । अर्जुन उत्साहित भए, उनलाई जिज्ञासा पनि भयो, नाटक कस्तो होला ? यो उनी ५ कक्षामा पढ्दाको कुरा हो ।

गाउँको स्कुलमा मञ्च बनाउन उनी पनि खटिए । नाटक देखाइयो, नाटकसँगै विभिन्न प्रहसन पनि । कार्यक्रममा ‘पटके लास’ नामको कमेडी पनि देखाइयो, जसले अर्जुनलाई साह्रै घत पार्यो । पटके लासमा उनकै जेठोदाइले एउटै मान्छे तीनचोटि मर्ने भूमिका गरेका थिए । अहिले उनका जेठादाइ आर्मीमा छन् ।

६ कक्षामा गएपछि अर्जुनले त्यो प्रहसन स्कुलको कार्यक्रममा देखाए । धेरैले मन पराए, हौसला पनि दिए । उनलाई लाग्यो, ‘मैले गर्ने काम त यो पो रैछ ।’ त्यसपछि उनको मन कलाकारितामा तानियो ।

कथाले स्कुल ड्रेसमा सानो केटो मागेपछि

अर्जुनले सुटिङ हेर्ने अवसर पाए, चर्चित सिरियल हिजोआजका कुराको, कलाकार सन्तोष पन्तको घरमा । यो उनी ६ कक्षामै पढ्दाको कुरा हो, उनी दिदीको घर आएका थिए । उनकी दिदीको घर काठमाडौं धापासीमा छ । ओखरपौवाबाट तीन घन्टा हिँडेपछि मोटरबाटो पुगिन्थ्यो, आधा घन्टामा गाडीले दिदीको घर पुर्याउँथ्यो । दिदीको घर र कलाकार सन्तोष पन्तको घरनजिकै छ ।

सुटिङ हेर्न केदार घिमिरे, सीताराम कट्टेल, दमन रुपाखेती लगायत थुप्रै अहिलेका चर्चित आदरणीय दाइहरू पनि जानुहुन्थ्यो,’ अर्जुन भन्छन्, ‘सुटिङमा सन्तोष दाइलाई पानी चाहियो भने एकैचोटि पानी लैजाने पाँचजना हुन्थे होला, सबै सानो रोल पाइन्छ कि भनेर धाएका हुन्थे ।

सुटिङ हेरिसकेपछि उनले आफूलाई थाम्न सकेनन्, टिभीमा देखिने कलाकार बन्ने भूत नै चढ्यो । उनी काठमाडौं धाउन थाले । शुक्रबार छिटै बिदा भएपछि स्कुल आइतबार मात्रै खुल्थ्यो । यही मौकामा उनी शुक्रबार स्कुल ड्रेसमै दिदीको घरमा आइहाल्थे, अनि सुटिङ हेर्न जान्थे ।
एक दिन उनले सुटिङ हेर्दै थिए । एउटा स्कुल ड्रेस लगाएको सानो विद्यार्थी कथाले मागेछ । सुटिङ हेर्ने दुई–तीन सयजना जति थिए । तर, स्कुल ड्रेसमा अर्जुन मात्रै थिए ।

उनलाई बोलाइयो । उनलाई बोलाउने हिजोआजका कुराका सहायक निर्देशक नितेशराज पन्त थिए ।
नितेशले सोधे, ‘तिमी बोल्न सक्छौ ?’
अर्जुनले खुसी हुँदै भने, ‘सक्छु ।’
अनि, उनले पहिलोपटक क्यामेरा फेस गर्न पाए ।

खड्के साइँलाबाको टिभी

गाउँमा दुई घरमा मात्रै टिभी थियो । खड्के साइँलाबा भन्ने थिए, उनको घरमा रंगीन टेलिभिजन थियो । अर्का रामशरण गोतामे भन्ने रात्रिबस चलाउने ड्राइभर थिए, उनीकहाँ ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन थियो ।
अर्जुन साथीहरूसँग टेलिभिजन हेर्न जान्थे । उनीहरूलाई कहिले कुन कार्यक्रम आउँछ भन्ने थाहा हुन्थ्यो । एउटा दोबाटोमा पुगेपछि राम्रो कार्यक्रम आउने दिन रंगीन टेलिभिजनतिर लाग्थे, नत्र ब्ल्याक एन्ड ह्वाइटतिर ।

सन्तोष पन्तलाई पानी दिने होडबाजी

गाउँमा पनि उनी हिजोआजका कुरामा खेलेको चर्चा भयो । त्यसपछि के चाहियो ! हरेक शुक्रबार उनी दिदीको घर आउन थाले र हिजोआजका कुराको सुटिङमा धाउन थाले । तर, दुई वर्षजति अवसर पाएनन् । एकैचोटि आठ कक्षामा पढ्दा आठ एपिसोड लगातार खेल्न पाए ।

‘सुटिङ हेर्न केदार घिमिरे, सीताराम कट्टेल, दमन रुपाखेती लगायत थुप्रै अहिलेका चर्चित आदरणीय दाइहरू पनि जानुहुन्थ्यो,’ अर्जुन भन्छन्, ‘सुटिङमा सन्तोष दाइलाई पानी चाहियो भने एकैचोटि पानी लैजाने पाँचजना हुन्थे होला, सबै सानो रोल पाइन्छ कि भनेर धाएका हुन्थे । मैले एकैचोटि ८ कक्षामा आएर मात्रै त्यस्तै चार एपिसोड कन्टिन्यु गर्न पाएँ । त्यतिबेला जाडोबिदा थियो ।’ यो त्यस्तै ०५५–५६ तिरको कुरा हो । त्यसपछिका दुई–तीन वर्ष कुनै अवसर पाएनन् ।
०००
अर्जुन तीनभाइमध्ये कान्छा हुन् । गाउँमा उनका बाबुको राम्रै जग्गा थियो । उनका बुवाले छोराछोरीलाई जग्गा बेच्दै पढाए, जग्गा घट्दै गयो । तर, गाउँमा उनीहरूको सानो किराना पसल पनि थियो । पाँडेले बाल्यकालमा त्यति अभावका दिनहरू भोगेनन् । उनले ०५८ मा एसएलसी पास गरे, कलेज पढ्न काठमाडौं आए । उनका दाइ प्रकाश घिमिरे पत्रकारिता पढ्थे, क्लासिक एफएममा आरजे पनि गर्थे । अर्जुन कहिले दाइ, कहिले दिदीकहाँ बसेर पढे, आरआर क्याम्पसबाट आईए गरे, पत्रकारितामा । बिए पढ्दापढ्दै कलाकारिताका करिअर खोज्न थाले । र, पढाइ रोकियो ।
योबीचमा उनले धेरैतिर धाए । तर, कतै अवसर पाएनन् । अनि, आफैं सिरियल बनाउने निर्णय गरे ।

मेकअप म्यानलाई क्यामेरा–म्यान बनाएर ठगे

अर्जुनले जानिनजानी स्क्रिप्ट लेखे । सिरियलको नाम राखे– वाक्क प्याक्क दिक्क ।
त्यसपछि के कसरी गर्ने भन्ने थाहा थिएन । फेरि पनि काम अघि बढाए । यो काममा उनले घाटा मात्रै व्यहोरे, कसैले उनलाई ‘मुर्गा’ बनायो, जसको नाम लिन चाहन्नन् उनी ।

उनीसँग अरु दुईजना साथी पनि थिए, राज न्यौपाने र राम नेपाली, जो कलाकारितामा रुचि राख्थे, अहिले उनीहरू कलाकारितामा छैनन् । तीनजना भएर साढे तीन लाखजति ऋण खोजे ।

‘एक जनालाई भेट्यौं, नाम नभनौं, अहिले चर्चित नै हुनुहुन्छ, उहाँले म निर्देशन गर्छु भन्नुभयो,’ अर्जुन भन्छन्, ‘उहाँले क्यामेरा म्यान बनाएर मेकअप म्यानलाई ल्याउनुभएको रहेछ, जो अहिले चर्चितै मेकअप म्यान हुनुहुन्छ । क्यामेराको भाडामात्रै एक दिनको नौ हजार तिर्यौं । ३० हजार ‘टाइटल सङ’ बनाउन मात्रै लिनुभयो । उहाँलाई साढे तीन लाख रुपैयाँ बुझाइयो । तीन एपिसोड खिच्यौं पनि । त्यत्रो पैसामा धेरै काम हुने रहेछ, थाहै भएन । नराम्रोसँग ठगियौं ।’
तीन एसिसोड पनि त्यति गतिलो बनेन, प्रसारण हुन सकेन । ‘वाक्क प्याक्क दिक्क’ले उनलाई ‘वाक्क प्याक्क दिक्क’ मात्रै बनायो, यो ०६१÷६२ तिरको कुरा हो ।

भद्रगोलसम्म आउन

भद्रगोलसम्म आउन पाँडेले थुप्रै तनावका दिन झेले । साथीहरू, दाइ, दिदीसँग ऋण लिएका थिए, सबैले नराम्रो मान्न थाले । अहिले पाँडे भद्रगोल सिरियलबाट चर्चित छन् । पाँडेको भूमिकामा उनी सिस्नुपानीबाट देखिएका हुन् । सिस्नुपानी एनटिभी प्लसमा ९१ भागसम्म चल्यो । योबीचमा उनी मेरी बास्सै, जिरे खुर्सानी लगायत हास्य सिरियलमा फाट्टफुट्ट खेलिरहेकै थिए । तर, कहीँ पनि स्थिर रुपमा काम पाउने स्थिति भएन । अनि, सुरज चापागाईं ‘बान्द्रे’सँग मिलेर सिस्नुपानी बनाएका थिए ।

एनटिभी प्लसबाट उनलाई नेपाल टेलिभिजनमा जाने मन भयो । मेरी बास्सैको ठाउँमा टेन्डर हालेर सिस्नुपानी झ्याम्मै चलाउन सफल भए । तर, १८ एपिसोडसम्म प्रसारण भएर बन्द भयो । योबीचमा उनले कुमार कट्टेल ‘जिक्री’, हरीश निरौला कक्रोच लगायतसँग सहकार्य गरे । पछि यिनै साथी मिलेर भद्रगोल सुरु गरे । भद्रगोल तीन एपिसोड चलेर रोकियो । अर्जुन भन्छन्, ‘यसो हुनुमा केही सिनियर कलाकार दाजुहरूले नै इष्र्या गरेको पाइयो । उहाँहरूले यो हास्य सिरियल भएन, कृषि कार्यक्रमजस्तो छ भनेर कमेन्ट्स गर्न थाल्नुभयो । उहाँहरूका यस्ता कमेन्ट्सले सिरियल रोकिन पुग्यो ।’ तर, उनी हारेनन् । उनले भद्रगोल फेरि सुरु गरे, जो अहिले चर्चित छ ।

पाँडेको जन्म

पाँडे चरित्र अहिले चर्चित छ । पाँडे को हो त ? किन पाँडे नै नाम राखियो ? पाँडे नै चरित्रलाई किन दर्शकले हेर्नुपर्यो ? अर्जुन भन्छन्, ‘पाँडे कुनै जात विशेष होइन । यो त पाँडे प्रवृत्ति हो । पाँडे प्रवृत्ति भनेको समाजमा बिग्रेको मान्छेको सोच हो, जसले कसैको राम्रो चिताउँदैन । यस्तो चरित्रलाई सतहमा ल्याइयो भने, धेरै समाजका पाँडेहरुले सोच्न बाध्य हुन्छ कि ममा त पाँडे प्रवृत्ति रैछ, यसकै लागि मात्रै हो, भद्रगोलको पाँडे ।’
पाँडे चरित्रको जन्म कसरी भयो होला ? अर्जुन भन्छन्, ‘मेरो गाउँमा एकजना घिमिरे बा थिए, साधारण कृषक । ती बाको आवाजलाई नक्कल गर्न खोज्दा पाँडेको आवाज निस्कियो । पछि त्यसलाई विकास गरिरहेँ ।’

कतै पुलिसले नै फोटो खिच्ने, कतै लाठी चार्ज

पाँडे र जिक्री केही महिनाअगाडि लिपुलेकमुनि गाउँमा गएका थिए, सांस्कृतिक कार्यक्रमका लागि । यो त्यस्तै तीन महिना अघिको कुरा हो । त्यो गाउँका मानिसले बोलेको पाँडे र जिक्रीले बुझेनन् । उनीहरूले सोचें, अब कसरी हँसाउने ? जब उनीहरू मञ्चमा उक्ले, माहोल सोचेभन्दा बेग्लै बन्यो । उनीहरूले दर्शकलाई भरपूर मनोरञ्जन दिए । उनीहरूले नेपाली बोलेको दर्शकले बुझ्दा रहेछन् । उनीहरूले टेलिभिजन, मोबाइलमा भद्रगोल हेर्दा रहेछन् । उनीहरू पाँडे र जिक्रीका जबर्जस्त फ्यान रहेछन् ।

कलाकारको सुरक्षाका लागि १५–२० जना प्रहरी थिए, जब पाँडे र जिक्री मञ्चबाट ओर्ले प्रहरीले नै उनीहरूसँग फोटो खिच्न थाले । यही बेला दर्शकको भीड ओइरिइहाल्यो । प्रहरीले थाम्नै सकेन । पाँडेलाई छुन मात्रै पनि बलजफ्ती गरे । ‘दर्शकहरूले मलाई बोके, उचाले, तानातान गरे,’ पाँडे भन्छन्, ‘मैले लगाएको कोटलाई यति तान्नुभयो कि कोट नै धुजा–धुजा भयो । कति टुक्रा उहाँहरूले नै लैजानुभयो । पाँडेको पोसाकका लागि अर्को कोट किन्नुपर्यो । उता, जिक्रीलाई पनि उही हालत बनाए । त्यहाँ दर्शकको जबर्जस्त माया र सम्मान पायौं ।’ त्यसपछि पाँडे र जिक्रीलाई त्यहाँका जनताले बोकेर, बाजा बजाएर तल मोटरबाटोसम्म छोड्न ल्याए । दर्शकले पाँडे र जिक्रीलाई असीम सम्मान व्यक्त गरे ।

‘हजुरलाई आज कहाँ पुर्याउने ?’ चालकले हर दिनजसो सोध्थे । पाँडेले हर दिनजसो फरक–फरक जवाफ दिन्थे– आज महाराजगन्ज छाडिदिनु, आज जमल छाडिदिनु । चालकले उनले भनेबमोजिम नै छाडिदिन्थे । जमल ओर्लेर उनी वीर अस्पतालतिर लाग्थे र रातभरि इमर्जेन्सी वार्ड बाहिरको कुर्सीमा निदाउँथे । किनभने, काठमाडौंमा उनी बासविहीन हुन पुगेका थिए ।

पाँडे र जिक्री देशका धेरै जिल्लामा प्रस्तुतिका लागि गएका छन् । उनीहरू गएका ठाउँमा दर्शक उर्लिएरै आएको पाएका छन् । पाँडे भन्छन्, ‘टिकट बिकेको आधारमा हेर्दा सबैभन्दा बढी दर्शक कञ्चनपुर महेन्द्रनगरमा आएका थिए, ५२ हजार दर्शक । यो एक महिनाअघिको कुरा हो । त्यति धेरै दर्शक आफ्नो अगाडि पाउँदा मेरो खुसीको सीमै थिएन । प्रस्तुतिपछि दर्शक मसँग फोटो खिच्नका लागि ओइरिन थाल्नुभयो, भीड थेग्न नसकेर प्रहरीले लाठी चार्ज नै गर्यो ।’ पाँडेले अहिलेसम्म १० वटा देशमा प्रस्तुति दिएका छन् । छिटै अस्ट्रेलिया जाँदै छन् र अमेरिका जाने पनि टुंगो लागिसकेको छ, अमेरिकाको २७ स्टेटमा उनको कार्यक्रम छ ।

भद्रगोल किन हेर्ने ?

हास्य सिरियलले कहिलेकाहीं हँसाउनका लागि मात्रै हँसाएका हुन्छन् । यतिसम्म कि गरिबका पीडा देखाएर धनीलाई हँसाइन्छ । युवतीले फरिया उचाल्दै गरेको देखेर कुनै बेवकुफ पात्र हाँसिरहेको हुन्छ । यसमा पाँडेको धारणा के छ त ? ‘आधा घन्टाको कार्यक्रममा जसरी हुन्छ, हँसाऊ भन्ने पनि हुन्छ ।

विशुद्ध मनोरञ्जन दिनकै लागि हामीलाई टेलिभिजनले समय दिएको हुन्छ । कतिपय अवस्थामा वाहियात गरेर पनि हँसाउनुपर्ने हुन्छ,’ अर्जुन भन्छन्, ‘फेरि पनि, हामी हास्य सिरियलले जनचेतना फैलाउनुपर्छ भन्नेमा गम्भीर छौं, त्यस्तो प्रयास पनि गरेका छौं । अहिले राजनीति, कर्मचारीतन्त्र, शिक्षा, स्वास्थ्य क्षेत्र र मिडियासम्म सबैतिर भद्रगोल छ । त्यसले भद्रगोलले समाजको विकृति र खराब प्रवृत्ति देखाउँछ । खासगरी हराउन लागेको ठेट नेपाली शब्दहरूको जर्गेना गर्छ ।’

कोठा नभएर अस्पतालमा सुत्थे 

‘हजुरलाई आज कहाँ पुर्याउने ?’ चालकले हर दिनजसो सोध्थे । पाँडेले हर दिनजसो फरक–फरक जवाफ दिन्थे– आज महाराजगन्ज छाडिदिनु, आज जमल छाडिदिनु । चालकले उनले भनेबमोजिम नै छाडिदिन्थे । जमल ओर्लेर उनी वीर अस्पतालतिर लाग्थे र रातभरि इमर्जेन्सी वार्ड बाहिरको कुर्सीमा निदाउँथे । किनभने, काठमाडौंमा उनी बासविहीन हुन पुगेका थिए ।

यो सिस्नुपानी सिरियल गर्दाताकाको कुरा हो । जतिबेला उनी बासविहीन थिए । ‘वाक्क, दिक्क, प्याक्क’ बनाउन दाइ, दिदी, साथीभाइसँग लिएको ऋण उनले तिर्न सकेका थिएनन् । घरबाट बाबुआमाले पनि छोरो बिग्रियो भन्न थाले । दाइसँग पनि सम्बन्ध बिग्रियो । ‘दाइले त अब यहाँ नआइज नै भन्नुभयो,’ पाँडे भन्छन्, ‘पछिल्लोपटक एकजना चप्पल कारखानामा काम गर्ने साथीसँग बसेको थिएँ, उनी जागिर छाडेर घर गए । म बासविहीन भएँ । कोठा लिएर बस्ने पैसा थिएन ।

केही गर्न नसकेर दिदीकहाँ जान पनि आँट आएन । त्यसपछि म कहिले कुन, कहिले कुन साथीकहाँ बस्न थालेँ । साथी नहुँदा हस्पिटलमा । पछि राम्रो हुँदै गयो र व्यवस्थित भएर बसें ।’ पाँडेले ०६९ मा बिहे अन्तर्जातीय बिहे गरेका हुन्, नेवार परिवारकी सुनिता मल्लसँग । एउटी छोरी छन् । श्रीमतीको माइती गोर्खा हो, अहिले माइतीको काठमाडौंमा पनि घर छ । पाँडेकी श्रीमती ब्युटिसियन हुन्, तर अहिले बच्चाका कारण गृहिणी बनेकी छिन् ।

0 comments

Write Down Your Responses